मगर समुदायको इतिहास, भाषा, संस्कृति, साहित्य तथा पहिचानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल मगर संघ ब्यास नगर समिति र नेपाल मगर लेखक संघको संयुक्त आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा वक्ताहरूले इतिहास केवल विगतको स्मृति नभई भविष्य निर्माणको आधार भएकाले त्यसको संरक्षण र पुस्तान्तरण अपरिहार्य रहेको बताएका हुन्।
नेपाल मगर संघका केन्द्रीय उपमहाचिव सिद्धान्त गर्जा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा “खोजौँ, पढौँ, लेखौँ र ज्ञान बाँडौँ, मगर दस्तावेजीकरणमा योगदान गरौँ” भन्ने मूल नारासहित मगर इतिहास र साहित्यको संरक्षण, अनुसन्धान तथा अभिलेखीकरणका विविध पक्षमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा लेखक मनोज घर्ति मगर द्वारा लिखित “मगर : इतिहासदेखि भर्तीको फन्दासम्म” कृतिमाथि केन्द्रित विशेष परिचर्चा सम्पन्न भएको थियो। उक्त कृतिमार्फत मगर समुदायको ऐतिहासिक पृष्ठभूमि, सामाजिक विकासक्रम तथा विभिन्न कालखण्डका यथार्थ पक्षहरू उजागर गरिएको सहभागीहरूले बताएका थिए।
कवि, लेखक तथा समालोचक चुन बहादुर राना मगर ले कृतिमाथि आफ्नो अवधारणा प्रस्तुत गर्दै मगर समुदायको इतिहास, सामाजिक रूपान्तरण, सांस्कृतिक चेतना र समकालीन चुनौतीहरूबारे गहिरो विश्लेषण गर्नुभएको थियो। उहाँले समुदायको मौलिक इतिहास र ज्ञान परम्परालाई दस्तावेजीकरण गर्न नसके भविष्यका पुस्ताले आफ्नो पहिचानबारे पर्याप्त जानकारी नपाउने खतरा रहेको औँल्याउनुभयो।
प्रमुख अतिथि सिद्धान्त गर्जा मगरले इतिहासलाई वर्तमानको कर्म, उपलब्धि र अनुभवसँग जोड्दै भविष्यको स्पष्ट मार्गचित्र निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले समुदायभित्र रहेका ज्ञान, अनुभव, संघर्ष र उपलब्धिहरूलाई लेखन तथा अभिलेखीकरणमार्फत सुरक्षित राख्न सके मात्र भावी पुस्ताले आफ्नो पहिचान र गौरवशाली इतिहासलाई सही रूपमा बुझ्न सक्ने बताउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले मगर समुदायको इतिहास, भाषा, संस्कृति र साहित्यलाई संरक्षण तथा प्रवर्द्धन गर्न अध्ययन, अनुसन्धान र लेखन अभियानलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। साथै, समुदायका बौद्धिक व्यक्तित्व, लेखक, अनुसन्धानकर्ता तथा युवाहरूलाई दस्तावेजीकरण अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको थियो।
कार्यक्रमले मगर इतिहास, साहित्य र सांस्कृतिक पहिचानको संरक्षणमा नयाँ ऊर्जा थप्नुका साथै समुदायभित्र अध्ययन, अनुसन्धान र लेखन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। आयोजक संस्थाहरूले यस्ता बौद्धिक तथा सृजनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
