गएको सोमबार भरतपुर अस्पतालमा बहिरंग सेवा लिने बिरामीको संख्या ३ हजार १८७ रहेको थियो । साता भरीनै हाराहारी बिरामी अस्पताल उपचारका लागि आउने गरेका छन् ।
यहाँका निजी दुई मेडीकल कलेजमा स्वास्थ्य बिमा हटेपछि यहाँको भरतपुर अस्पताल र बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप थेग्न मुस्किल परेको छ । भरतपुर अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार सोमबार अस्पताल आएका बिरामी मध्ये २ हजार ३२३ जना बिमाका रहेका थिए । ८६४ जना बिमा बाहेकका रहेका थिए । मंगलबार बिरामीको संख्या २ हजार ९८३ थियो । बिहिबार २ हजार ७८२ रहेको उहाँले जानकारी दिनुभयो ।
निजीमा बिमा कार्यक्रम नभए पछि बिरामीको चाप उच्च बढेको उहाँले बताउनुभयो । यहाँ आउने बिमाका बिरामीहरुले बिमा भएका ठाउँबाट रिफरल समेत ल्याउनु पर्दैन । अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा। विश्वबन्धु वगालेले पहिलेको तुलनामा १५ प्रतिशत भन्दा बढी बिरामी बढेको बताउनुभयो । उहाँले भन्नुभयो “हप्ताको दुईदिन बिदा हुँदा बिरामीको चाप धान्न मुस्किल थियो । अहिले अरु थपिदाँ झन कठिन भएको छ ।” दुई दिनको बिदा संगै यो बिरामी बढी हुने मौषम पनि भएको उहाँ बताउनुहुन्छ ।
अस्पतालले व्यवस्थापनमा जटिलता भएपछि कसरी सहज गर्ने भन्ने बारेमा अध्ययन र काम समेत गरिरहेको उहाँ बताउनुहुन्छ । वहिरंग टिकटिङ्को संख्या निर्धारण गर्ने वा चिकित्सकहरुलाई प्रोत्साहन गरेर दुई सिफ्ट संञ्चालन गर्ने भन्ने बारेमा छलफल भईरहेको उहाँ बताउनुहुन्छ । अस्पतालले बिहान ८ वजे देखि ४ वजे सम्म टिकट काट्न सुरु गरेको छ । साँझ ५ वजे सम्मनै चिकित्सकले बिरामी हेर्ने गरेका छन् । अस्पतालले महानगर संग सहकार्य गरेर नगर अस्पताल सञ्चालन गर्ने बिषयमा पनि छलफल अघि वढाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “सामान्य समस्या भएका बिरामीलाई स्थानीय स्तरमा उपचारको व्यवस्था मिलाउनु पर्छ ।” भरतपुर अस्पतालमा ६ सय शैय्या छन् । उहाँले भन्नुभयो “अहिले म भर्ना हुन परे पनि अस्पतालमा सम्भावना छैन ।”
उता बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक जसो झगडा मिलाउन प्रहरी जानु पर्ने अबस्था छ । बिरामीको उच चाप भएपछि व्यवस्थापन जटिल वनेको हो । अस्पतालका कार्यकारी निर्देशक डा। उमेश नेपालका अनुसार दैनिक ८५० हाराहारी बहिरंग सेवामा बिरामी आउने गरेकोमा अहिले १ हजार २ सय हाराहारी पुग्ने गरेको छ । टिकट काउण्टर देखि उपचारमा सबै बिभागहरुमा समस्या देखिएको छ । आठ वटा काउण्टर चलिरहेकोमा दुईवटा थपका लागि स्थान र जनशक्ति व्यवस्थापनमा लागेको उहाँ बताउनुहुन्छ । बिरामीको उच्च चाप भएका बेला बिमा र बिपन्नको सफ्टवयर नचल्दा पनि समस्या भएको छ ।
