भरतपुर–७ स्थित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानबाट संकलित दूधको करिब ३१ लाख रुपैयाँ भुक्तानी नपाएको जनाएको छ ।
२०५६ सालदेखि सञ्चालनमा रहेको सहकारीले १०० भन्दा बढी किसान परिवारबाट दूध संकलन गर्दै आएको छ । जय शम्भु डेरी भक्तपुरसँगको सम्झौताअनुसार दूध बिक्री हुँदै आए पनि पछिल्लो समय भुक्तानी रोकिएको सहकारीले बताएको हो ।
सहकारीका अध्यक्ष आनन्द निउरेका अनुसार साँवा २४ लाख ३६ हजार रुपैयाँसहित ब्याज जोड्दा करिब ३१ लाख रुपैयाँ असुल हुन बाँकी छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा समेत निवेदन दिइए पनि हालसम्म सहमति हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
किसानको मेहनतको मूल्य सुनिश्चित गर्न सरकार, प्रशासन तथा सम्बन्धित निकायसँग सहकारीले आवश्यक पहल गरिदिन आग्रह गरेको छ । साथै, भुक्तानी नदिएको भन्दै जय शम्भु डेरीका सञ्चालकको फोटो समेत सार्वजनिक गरिएको छ ।
