नारायणी लिफ्ट सिंचाई जल उपभोक्ता समितिले आफ्नो प्रणालीको अवस्था, उपलब्धि र चुनौतीबारे जानकारी गराउँदै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा समितिले चितवनको कृषि उत्पादन वृद्धि र किसानको आर्थिक उन्नतिमा नारायणी लिफ्ट सिंचाई प्रणालीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
वि.सं. २०३४ सालदेखि निर्माण सुरु भई २०४० सालबाट सञ्चालनमा आएको यो प्रणालीले हाल भरतपुर महानगरका विभिन्न वडासहित खगेरी सिंचाई प्रणालीलाई समेत आवश्यकताअनुसार पानी उपलब्ध गराउँदै आएको समितिले जनाएको छ ।
करिब ४० वर्ष पुराना मोटर पम्प तथा संरचना जीर्ण भएपछि सिंचाई सञ्चालनमा चुनौती आए पनि बागमती प्रदेश सरकारको करिब ३० करोड रुपैयाँ सहयोगमा नयाँ अटोमेटिक प्रणालीका मोटर पम्प जडान गरिएको समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिए ।
नयाँ पम्प जडानपछि हिउँदे र वर्षे बालीका लागि नियमित सिंचाई सुविधा उपलब्ध गराउन सहज भएको र हाल करिब ७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सेवा पुगेको समितिले जनाएको छ । यसबाट किसानको उत्पादन र आम्दानी वृद्धि हुनुका साथै वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादनमा योगदान पुगेको समितिको भनाइ छ ।
समितिले बढ्दो सहरीकरण, जग्गा खण्डीकरण, नहर अतिक्रमण तथा संरचना संरक्षणलाई आगामी दिनको मुख्य चुनौतीका रूपमा औंल्याएको छ । समितिले नेपाल सरकारसँग सहकार्य गर्दै सिंचाई प्रणालीलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक पहल गरिने जनाएको छ ।
