नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पोल्याण्ड भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री डोनाल्ड टस्कको पार्टी तथा सत्तारुढ चारदलीय संसदीय गठबन्धनकी प्रवक्ता डोरोटा लोबोडासँग भेटवार्ता गरेका छन्।
पोल्याण्डको संसद् भवनस्थित लोबोडाको कार्यकक्षमा भएको भेटमा नेपाल–पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध, दुई देशबीचको सहकार्य तथा राजनीतिक दलहरूबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको चालिसेले जानकारी दिएका छन्।
भेटका क्रममा प्रवक्ता चालिसेले वि.सं. २०१६ मा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाको कार्यकालमा नेपाल र पोल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
दुवै पक्षबीच लोकतन्त्र, मानवअधिकार, जवाफदेही शासन, कानुनी शासनको सर्वोच्चता तथा वातावरण संरक्षणजस्ता साझा मूल्य र विषयमा आगामी दिनमा सहकार्यलाई विस्तार गर्ने विषयमा पनि सकारात्मक छलफल भएको जनाइएको छ।
प्रवक्ता चालिसेले नेपाल–पोल्याण्डबीच हाल न्यून रहेको द्विपक्षीय व्यापारलाई विस्तार गर्न पोल्याण्डस्थित नेपाली समुदायलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन्। साथै, नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर बढाउन पोल्याण्ड सरकारसँग पहल गर्न अनुरोध गरेका छन्।
भेटका क्रममा उनले काठमाडौंमा पोल्याण्डको आवासीय राजदूतावास स्थापना गर्न आवश्यक कूटनीतिक पहल अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
पोल्याण्ड भ्रमणका क्रममा भएका यस्ता उच्चस्तरीय भेटघाटले नेपाल–पोल्याण्ड सम्बन्धलाई थप मजबुत बनाउन तथा राजनीतिक, शैक्षिक र आर्थिक सहकार्य विस्तार गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
