कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
प्रतिष्ठान गठनपछि अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए । उनले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गरे ।
प्रदेश सरकारले सोमबार गठन गरेको प्रतिष्ठानको अध्यक्षमा दाहाल नियुक्त भएका हुन् । प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त भएका छन् ।
सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी धनकुटा, माला पालुङ्वा ताप्लेजुङ, रेणु पराजुली उदयपुर, विष्णुप्रसाद पोखरेल झापा, अर्जुन राजवंशी झापा र ध्रुव ढकाल सुनसरी रहेका छन् ।
प्रदेश प्रेस रजिस्ट्रार भट्टराईले नियुक्त भए लगत्तै प्रतिष्ठानले रेडियो तथा टेलिभिजनको नवीकरण प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार १०० वाटदेखि एक हजार वाट क्षमतासम्मका रेडियो तथा टेलिभिजनको नवीकरण भइरहेको छ ।


