वार्सा, पोल्यान्ड । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोल्यान्डका विभिन्न सहरमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अझैसम्म सम्पर्कविहीन तथा बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र खोजी तथा उद्धारको कामना गरिएको छ। साथै, बाढीमा परी घाइते भएका जनप्रतिनिधि तथा अन्य व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो।
पोल्यान्डमा रहेका विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता, नेपाली समुदाय तथा दाजुभाइ–दिदीबहिनीहरूको सहभागितामा वार्सा, पोजनान, क्राको लगायतका विभिन्न सहरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाली समुदायका साथै स्थानीय पोलिस नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। कार्यक्रममा सहभागी पोल्यान्डका नागरिकहरूले समेत नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिको यस दुःखद घडीमा आफूहरू नेपाली समुदायसँगै रहेको बताएका थिए।
कार्यक्रममा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
कार्यक्रमले विदेशमा रहे पनि नेपाली समुदायले मातृभूमिमा आइपरेको दुःख र विपत्तिमा एकजुट हुँदै पीडितप्रति सहानुभूति, ऐक्यबद्धता र मानवीय भावना प्रकट गरेको सन्देश दिएको छ।
