मानसिक रोग विशेषज्ञ एवं डर भगाउने बिधिका प्रशिक्षक छवि अधिकारीले देशमा मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको र महिलाको तुलनामा पुरुष मानसिक रोगको बढी सिकार हुने गरेको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै अधिकारीले मानसिक समस्या दुई दशकको तुलनामा १० प्रतिशत देखि ८० प्रतिशतसम्म वृद्धि भएको बताउनुभएको हो ।
उहाँले मानसिक स्वास्थ्यको वर्तमान अवस्था हेर्दा वर्षभरीमा करिव ७ हजारको मृत्यु आत्महत्याबाट हुने गरेको बताउनुभयो । १० प्रतिशत मानिसहरुमा केही न केही रुपमा मानसिक समस्या रहेको अधिकारीले उल्लेख गर्नुभयो ।
अस्वभाविक बढ्दो वैदेशिक रोजगारी,धेरै महत्वकांक्षी हुनु, अनौपचारीक क्षेत्रमा व्यवसाय गर्नु, सामाजिक सञ्जालको सहि उपयोग नगर्नु, बढ्दो दिर्घ रोग, मध्यपान र धुम्रपानको बढी प्रयोग, समयअनुसार सार्वजनिक स्वास्थ्य संस्थाको स्थितिमा सुधार गर्न नसक्नु जस्ता विविध कारणले नेपालमा मानसिक रोगका विरामी बढ्दै गएको मानसिक रोग विशेषज्ञ एवं प्रशिक्षक अधिकारीको बुझाई छ ।
यसरी दिनानुदिन बढ्दो आत्महत्याको प्रमुख कारण कम उमेरमा विवाह हुनु र सानै उमेरमा बच्चा पाउने प्रवृत्तिले समेत महिला तथा बालबालिकाको मनोबिज्ञानमा नराम्रो असर पर्ने अधिकारीले बताउनुभयो ।
आजको युग बिज्ञान र प्रविधिमैत्री भइरहँदा समेत २१ औं शताब्दीमा अझैपनि समाजमा पुरातनवादी सोच रहेको उल्लेख गर्नुभयो । यसको निरुत्साहितको लागि अधिकारीले स्थानीयस्तरबाट नै सचेतनाका आवाजहरु उठ्नुपर्ने तर्क गर्नुभयो ।
मानसिक समस्या भएका व्यक्तिहरुमा छिटो रिसाउने, बिर्सिने, काम्ने र बोल्न नसक्ने, डराउने, एउटै कुरा बारम्बार दोहोराइरहने, शङका गर्ने, एक्लै बस्न रुचाउने, बरबराउने र एकोहोरो हुने जस्ता लक्षणहरु देखा पर्ने मानसिक रोग विशेषज्ञ एवं डर भगाउने बिधिका प्रशिक्षक छवि अधिकारीले बताउनुभयो ।