साहित्य संगम चितवनले ३० औं पारिजात स्मृति दिवसका अवसरमा नेपाली प्रगतिवादी साहित्यको मीमांसा विषयक अन्तरक्रिया गरि मनाएको छ ।
साहित्यकार पारिजातको योगदानलाई स्मरण गर्दै नारायणी नमूना माविमा साहित्य संगमले सो कार्यक्रम आयोजना गरेको हो ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान मुख्य प्रबर्द्धकको रूपमा रहेको कार्यक्रममा कवि तथा राजनीतिक विश्लेषक सरिता तिवारी र कवि तथा निबन्धकार अनिल श्रेष्ठ कार्यक्रममा मुख्य वक्ताको रूपमा रहनुभएको थियो ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै कवि तथा राजनीतिक विश्लेषक सरिता तिवारीले पारिजातले बङ्गगाली र रसियन साहित्यमा समेत ठूलो अनुभव संगालेको बताउनुभयो ।
सादा जीवन र उच्च बिचार भएको प्रगतिवादी, शालीन व्यक्तित्वको रूपमा पारिजातलाई चित्रण गर्न सकिने बताउनुभयो ।
उनको चर्चित कृति शिरिषको फूलले नेपाली साहित्य जगतमा ठूलो चर्चा बटुलेको स्मरण गर्नुभयो ।
यसैगरी कवि तथा निबन्धकार अनिल श्रेष्ठले पारिजात दुरदर्शी र चिन्तशील भएको बताउनुभयो ।
समाज परिवर्तनमा साहित्य महत्त्वपूर्ण साधना भएको जिकिर गर्नुभयो । समयको चक्र अनुसार नयाँ पुस्ताको लेखनशैलीमा रुचि हराउँदै गएको स्विकार गर्नुभयो ।
कुनै समय एफएम रेडियो पत्रपत्रिका पढ्दै सुन्दै हुर्किएको युवा जमात अहिले नवपुस्ताहरु मोबाइल र फेसबुकमा भुलेको उल्लेख गर्नुभयो ।
नयाँ दिशामा निर्दिष्ट गर्दै देशलाई अगाडि बढाउनुपर्ने धारणा समेत श्रेष्ठले राख्नुभयो ।
कवि तथा पत्रकार सूर्यप्रकाश कंडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा चितवनका विभिन्न साहित्य स्रस्ता एवं सर्जकहरुको सहभागीता थियो ।