चितवनमा अवैधरुपमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था (कन्सल्टेन्सी) बन्द गराउनबाट स्थानीय प्रशासन रोकिएको छ ।
अवैध भनिएका र दर्ता प्रक्रियामा रहेका भनिएका केही कन्सल्टेन्सीले कागजपत्रसहित निवेदन दिएपछि अवैध कन्सल्टेन्सीमाथि एक्सन लिनबाट जिल्ला प्रशासन कार्यालय रोकिएको हो ।
प्रशासनले मङ्गलबार एक सूचना जारी गरी जिल्लामा १५ वटा कन्सल्टेन्सी अवैध रहेको भन्दै बन्द गराउनलाई जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
त्यस्तै, ४६ वटा कन्सल्टेन्सी दर्ता प्रक्रिया पूरा गरी स्वीकृतिसमेत लिएर सञ्चालन रहेको र ५० वटा कन्सल्टेन्सी दर्ता प्रक्रियामै रहेको भनी कन्सल्टेन्सीहरुको नाम सार्वजनिक गरिएको थियो ।
कन्सल्टेन्सीको सूचीप्रति असन्तुष्टि जनाउँदै नयाँ चारसहित २० वटा कन्सल्टेन्सीले निवेदन दिएपछि अवैध कन्सल्टेन्सी बन्द गर्ने कार्य तत्काललाई रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनका नासु दुर्गाबहादुर रानाले जानकारी दिए ।