विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ ।
सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ ।
योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटरबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उहाँको भनाइ छ ।
दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उहाँले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताउनुभयो ।
“दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रुपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्तारको अन्य काममा जुट्नेछौँ ।” यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ ।