अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील संस्था करुणा फाउण्डेसन नेपालले देशभरका ४२८ जनालाई कृत्रिम हात वितरण गर्ने भएको छ ।
फाउन्डेशनले आज एक विज्ञप्ति जारी गरी जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा सञ्चालन हुने सहयोग अभियानअन्तर्गत पहिलो चरणमा कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण गर्न लागिएको जनाएको छ ।
फाउण्डेसनका सह निर्देशक दिनेश ढकालले यही कात्तिक १७ गतेदेखि २६ गतेसम्म कोशी प्रदेशको इटहरीमा कार्यक्रम सञ्चालन हुने र त्यस क्रममा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बताउनुभयो ।
हालै कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेकामा देशभरका ४२८ जना सूचीकृत भएका जनाउँदै उहाँले पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई प्राथमिकता दिइएको बताउनुभयो ।
लाभग्राहीमा भोजपुरका १०, इलामका तीन, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुङ्गाका १९, पाँचथरका २२, सोलुखुम्बुका आठ, सुनसरीका आठ, तेह्रथुमका दुई र उदयपुरका २५ जना रहेका फाउण्डेशनले जनाएको छ ।
“यसरी वितरण तथा जडान गरिने हात हल्का, सहज र प्राकृतिक देखिने खालका छन् । कृत्रिम हात पाएका व्यक्तिहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरूमा सहजता पाउनेछन्”, सह निर्देशक ढकालले भन्नुभयो, “पहिलो चरणमा कोशीमा सुरु हुने कार्यक्रममा प्रत्येक दिन २० देखि २५ जना लाभग्राहीलाई दुई समूहमा विभाजन गरी हात जडान गरिनेछ ।
