राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ।
उनीविरुद्ध भएको जेनजी प्रदर्शनमा दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगमा उपस्थित गराउनका लागि सिंहदरबार पुर्याइएको हो।
आयोगले यसअघि नख्खु कारागारका जेलर सत्यराज जोशीसँग पनि बयान लिएको थियो। जोशीले आयोगलाई दिएको बयानमा भनेका छन् कि रवि लामिछाने जेलबाट निस्किएको करिब डेढ घण्टापछि आफूलाई एक पत्र ल्याएर हस्ताक्षर गराइएको थियो। उनले सुरक्षा कारण पत्रको व्यहोरा नहेरी हस्ताक्षर गरेको बताएका छन्।
आयोगका सदस्यहरूका अनुसार, लामिछानेसँग पनि सोही पत्रबारे सोधपुछ तथा बयान लिइनेछ। उनले कारागारबाट निस्किँदा सार्वजनिक गरेको पत्रमा सहकारी मुद्दासँग जोडिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने भएकाले गृह सचिवको आदेशअनुसार थुनामुक्त गरिएको उल्लेख गरिएको थियो।
उक्त पत्रमा भनिएको छ — “थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन–चयन खलबल पर्न सक्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ।”
यसअघि उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागार पुगेर त्यहाँको अवस्थाबारे निरीक्षण पनि गरेका थिए।
