राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु भएको छ।
दुई दिन चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णीय वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टीको नयाँ नेतृत्व, महाधिवेशन र आगामी निर्वाचन रणनीतिबारे निर्णय हुने बताइएको छ। सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेपछि रास्वपाले महाधिवेशन सार्ने वा यथावत् राख्ने विषयमा पनि छलफल गर्नेछ।
५१२ जना प्रतिनिधिको सहभागिता रहेको बैठकमा सहभागीले रु.१५०० शुल्क तिरेर सौराहाका होटलमा बसोबास गरेका छन्।
चितवन क्षेत्र नं.१ का पूर्वसांसद हरि ढकालका अनुसार चितवन रास्वपाको स्थापना र विस्तारका दृष्टिले महत्वपूर्ण केन्द्र भएकाले यहीँ बैठक आयोजना गरिएको हो।
