नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्रे गरेको छ ।
कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो ।
कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिनुभयो ।
आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस–१, २, ३, ४ र साविकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।
शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उहाँले बताउनुभयो ।

