राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा गैरराजनीतिक पृष्ठभूमिबाट आएका नागरिकहरूको साझा मञ्च बनेको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पटक–पटक आफूहरूले उठाएका विषय सुनुवाइ नभएपछि नयाँ राजनीतिक शक्ति निर्माण भएको बताए ।
उनले टेलिभिजन, राजनीतिक यात्रा र कारागारबाट समेत आफ्ना विचार राखे पनि बेवास्ता गरिएको उल्लेख गर्दै भने, “रास्वपा एउटा यस्तो साझा मञ्च बनेको छ, जहाँ अधिकांश गैरराजनीतिक मानिसहरू आएका छन् । यो रहर होइन, बाध्यता हो ।”
लामिछानेले रास्वपालाई कमजोर बनाउने प्रयास सफल नहुने दाबी गर्दै पार्टी आफ्नै कमजोरीका कारण मात्र समस्यामा पर्न सक्ने बताए । उनले कार्यकर्तालाई फुटाउ र राज गर भन्ने प्रयासबाट सचेत रहन आग्रह गरे ।
उनले आफू कारागारमा रहँदा व्यक्त गरेको भनाइ स्मरण गर्दै बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई शक्तिशाली दलको रूपमा स्थापित गरेको दाबी गरे । तर शक्ति प्राप्त हुनु दम्भ वा प्रतिशोधको आधार नभएको उनको भनाइ थियो ।
“शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स होइन, प्रतिशोध साध्ने लाइसेन्स होइन,” उनले भने, “रास्वपा नागरिक जिम्मेवारी पूरा गर्ने जनमतसहित अघि बढेको छ ।”
सभापति लामिछानेले लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार र समावेशिताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । विगतका आन्दोलन र उपलब्धिहरूको सम्मान गर्दै रास्वपाले लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने उनको भनाइ थियो ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गर्दै राष्ट्रिय राजनीतिमा एउटा दल मात्र ठीक भएर नपुग्ने बताए । सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो ।
लामिछानेले अन्त्यमा कार्यकर्तालाई आश्वस्त पार्दै भने, “निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ ।”
