तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुद गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।
खेलकुद विकास समिति तनहुँका अनुसार जिल्लाका अधिकांश खेलमैदानमा घेराबार, दर्शक बस्ने स्थान, शौचालय, संरक्षण र स्तरोन्नतिको अभाव छ । पर्याप्त बजेट नहुँदा भएका मैदानको मर्मत तथा विकास कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको समितिका अध्यक्ष अनिल पाण्डेले बताउनुभयो ।
सदरमुकाम दमौलीस्थित बीपी वनवाटिकाको खेलमैदानसहित जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेलस्थलमा फुटबल, भलिबल, क्रिकेटलगायत खेल गतिविधि हुँदै आए पनि व्यवस्थित पूर्वाधारको कमीले खेलाडी र आयोजकले समस्या भोग्दै आएका छन् ।
अध्यक्ष पाण्डेका अनुसार युवामा खेलप्रतिको आकर्षण बढ्दै गए पनि अभ्यास र प्रतियोगिताका लागि उपयुक्त मैदानको अभाव छ । जिल्लाका खेलमैदानको स्तरोन्नति र संरक्षण गर्न स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले पर्याप्त लगानी गर्नुपर्ने खेलप्रेमीहरूको माग छ ।
