राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी विधान संशोधनमार्फत महिला, मधेसी, दलित र जनजाति समुदायको सहभागिता सुनिश्चित गर्ने निर्णय गरेपछि मधेस प्रदेशका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका छन् ।
रास्वपाले केन्द्रीय समितिमा प्रदेशगत प्रतिनिधित्वसहित समावेशी व्यवस्था लागू गर्ने तयारी गरेको छ । जसअनुसार महिला, जनजाति, दलित, थारु र मधेसी समुदायको प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ ।
मधेस प्रदेशबाट सहभागी महाधिवेशन प्रतिनिधिहरुले समावेशी नीतिले सबै समुदायलाई समान अवसर र सम्मान दिने विश्वास व्यक्त गरेका छन् । धनुषाका उदयकुमार साहले पुराना दलहरुले समावेशीताको मुद्दालाई प्राथमिकता नदिँदा जनविश्वास गुमाएको भन्दै रास्वपाको पहल सकारात्मक रहेको बताउनुभयो ।
महोत्तरीका विनोदकुमार शाह, सर्लाहीकी आज्ञा कटुवाल र बाराका प्रतिनिधिहरुले पार्टी संगठन गाउँ तहसम्म पुगेर सबै वर्ग र समुदायको आवाज समेट्नुपर्ने सुझाव दिएका छन् ।
रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन प्रक्रिया अघि बढिरहेको छ ।
