काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गैंडाकोटस्थित एनआईटी कलेजले सूचना प्रविधिको क्षेत्रमा नयाँ अवसरसहित सूचना प्रविधिमा स्नातक (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
‘पढ्दै कमाउँदै’ अवधारणामा आधारित यस कार्यक्रममा विद्यार्थीले अध्ययनसँगै व्यवहारिक सीप, उद्योगमा आधारित तालिम, परियोजना कार्य तथा रोजगारीको अनुभव हासिल गर्ने अवसर पाउने कलेजले जनाएको छ ।
कार्यक्रममा सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता, मेसिन सिकाइ, गहिरो सिकाइ, साइबर सुरक्षा, क्लाउड प्रविधि, तथ्याङ्क विज्ञान तथा मोबाइल एप विकासजस्ता आधुनिक प्रविधिका विषय समेटिएका छन् ।
कलेजका अनुसार बीआईटी अध्ययनपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियर, कृत्रिम बौद्धिकता इन्जिनियर, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विशेषज्ञ तथा क्लाउड इन्जिनियरलगायतका क्षेत्रमा करियर बनाउन सक्नेछन् ।
विज्ञान संकायअन्तर्गत भौतिकशास्त्र, गणित तथा रसायनशास्त्र वा कम्प्युटर विज्ञान अध्ययन गरेका विद्यार्थीका लागि लक्षित यो कार्यक्रमले प्रविधि शिक्षा र व्यवहारिक ज्ञानलाई जोड दिने कलेजले जनाएको छ । विद्यार्थीको क्षमता विकास, परियोजना आधारित सिकाइ र रोजगारी सहयोगलाई समेत प्राथमिकता दिइएको छ ।
