एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवनद्वारा निर्माण गरिएको लोकप्रिय कार्यक्रम “द एभरेष्ट टक शो” को तेस्रो शृङ्खला आज असार १३ गते शनिबार प्रसारण हुँदैछ।
कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज तथा प्रिन्ट मिडिया पार्टनर चितवन पोस्ट दैनिक रहेका छन्। एभरेष्ट प्रिस्कुलका लागि यो कार्यक्रम फोटो फ्याक्ट्री द्वारा निर्माण गरिएको हो।
शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवहरूलाई केन्द्रमा राखेर तयार गरिएको यस टक शोमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग संवाद प्रस्तुत गरिँदै आएको छ। कार्यक्रमले समाजमा सकारात्मक शैक्षिक बहस र प्रेरणादायी अनुभवहरूलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखेको छ।
आज प्रसारण हुने तेस्रो शृङ्खलामा नारायणी नमूना माध्यमिक विद्यालय, भरतपुर–१०, चितवनका भूतपूर्व शिक्षक श्री बेदबहादुर थापा अतिथिका रूपमा सहभागी हुनुहुनेछ। शिक्षा क्षेत्रमा लामो समय समर्पित रहनुभएका थापाले नारायणी नमूना माध्यमिक विद्यालयको स्थापना तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। साथै उहाँ विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा समेत सक्रिय रहँदै आउनुभएको छ।
कार्यक्रममा उहाँले आफ्नो जीवन यात्रा, शिक्षण पेशामा बिताएका अविस्मरणीय अनुभवहरू, विद्यालय स्थापना र विकासका क्रममा भोग्नुपरेका चुनौतीहरू, समाज सेवाका विविध आयाम तथा शिक्षाको महत्वबारे आफ्ना विचारहरू साझा गर्नुभएको छ।
विशेषगरी विद्यालय निर्माण तथा शैक्षिक विकासमा उहाँले खेलेको भूमिका, विद्यार्थीहरूसँगको सम्बन्ध, समाज रूपान्तरणमा शिक्षाको योगदान तथा वर्तमान पुस्ताका लागि दिनुभएको प्रेरणादायी सन्देश यस एपिसोडका मुख्य आकर्षण रहनेछन्। उहाँका अनुभव र विचारहरूले शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजका सबै वर्गलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा रेडियो होस्ट महिमा पण्डित भट्टराई ले गर्नुभएको छ। कार्यक्रमका निर्देशक तथा एभरेष्ट प्रिस्कुलका सञ्चालक गणेश राना का अनुसार, “द एभरेष्ट टक शो शिक्षा, समाज र प्रेरणासँग जोडिएका व्यक्तित्वहरूको अनुभव र योगदानलाई समाजसमक्ष प्रस्तुत गर्ने साझा मञ्च हो। यस्ता संवादहरूले नयाँ पुस्तालाई सकारात्मक दिशा प्रदान गर्नुका साथै शिक्षा क्षेत्रलाई अझ सशक्त बनाउन मद्दत पुग्नेछ।”
“द एभरेष्ट टक शो” आज साँझ ७ः०० बजे नारायणी अनलाइनमार्फत अडियो–भिडियो स्वरूपमा प्रसारण हुनेछ भने राति ९ः०० बजे कालिका एफएम ९५.२ मेगाहर्जबाट अडियो स्वरूपमा सुन्न सकिनेछ।
श्री बेदबहादुर थापाको जीवनयात्रा, शिक्षा क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान, नारायणी नमूना माध्यमिक विद्यालयको स्थापना तथा विकासमा निर्वाह गर्नुभएको भूमिका, साथै उहाँका प्रेरणादायी अनुभव र विचारहरूबारे थप जानकारी प्राप्त गर्न आज साँझ ७ः०० बजे नारायणी अनलाइनमार्फत प्रसारण हुने उहाँसँग गरिएको विशेष कुराकानी हेर्न तथा आज राति ९ः०० बजे कालिका एफएम ९५.२ मेगाहर्जबाट सुन्न सकिनेछ।
शिक्षा, प्रेरणा र अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रमले समाजमा सकारात्मक शैक्षिक संवादको विस्तार गर्दै अनुभवी व्यक्तित्वहरूको जीवनयात्रालाई नयाँ पुस्तासम्म पुर्याउने अपेक्षा गरिएको छ।
