चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ज्यु, नमस्ते !
म चितवनको माडीबाट रकेश चौधरी यहाँलाई सानो खुल्ला पत्र मार्फत समग्र माडीको अवस्था र निकुञ्ज सडकका बारेमा जानकारी गराउदैछु ।
भदौ २३ र २४ मा सारा देश जल्दा एउटा यस्तो नगरपालिका थियो, जहाँ विध्वंस होइन, नयाँ सोच लिएर विकासका लागि एउटा कदम चालिएको थियो।
त्यसपछि भएको आन्दोलनबाट नयाँ सरकार पनि बन्यो, र यसै क्षेत्रबाट भारी मतसहित विजय हासिल गरी माननीयज्यू हजुर निर्वाचित हुनुभयो।
भोलि हजुर माडीको कार्यक्रममा आउने खबर पाएको छु। हजुर आउने बाटो, अर्थात् चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको अवस्था अहिले पनि निकै दयनीय छ।
सडक निर्माणका लागि EIA (वातावरणीय प्रभाव मूल्याङ्कन) प्रक्रिया तीव्र रूपमा अगाडि बढ्ने सम्बन्धित मन्त्रालयबाट जानकारी पनि आएको थियो। सिंहदरबारमा भएको छलफल तथा असार मसान्तसम्म EIA प्रक्रिया सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
माडीका युवासँग स्थानीय सरकारको सम्झौताअनुसार सडकमा टायल बिछ्याउने विकल्पको पनि चर्चा भएको थियो। तर नयाँ सरकार बनिसकेपछि अब कालोपत्रे हुन्छ भन्ने आशामा त्यो काम पनि अघि बढेन।
अब प्रश्न उठ्छ—EIA कहिलेसम्म पास हुन्छ? टेन्डर कहिलेसम्म आह्वान हुन्छ? र कालोपत्रे कहिलेसम्म सम्पन्न हुन्छ?
बजेट भाषणका क्रममा भरतपुर–माडी सडकखण्डको विषय पनि उठाइएको थियो। त्यसैले हामीमा अझै आशा छ, यो आशा निराशामा परिवर्तन हुने छैन।
रकेश चौधरी
माडी, चितवन
