वन्यजुन्तुको आक्रमणबाट नेपालमा पाँच वर्षको अवधिमा एसय ४६ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुरलगायत वन्यजन्तुको आक्रमणबाट एक सय ४६ जनाको मृत्यु भएको हो ।
यस्तै तीन सय ९९ जना सख्त र दुई सय ५१ जना सामान्य घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारले ५८ करोड ५८ लाख २० हजार चार सय ८२ रुपैयाँ खर्चेको छ।
वन्यजन्तुले बालीनाली, घर, गोठमा पनि क्षति पुर्याउने गरेका छन्। देशभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपास हात्ती, बाघ, भालु, गैंडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरी गाई लगायत वन्यजन्तुसँग मानिसको द्वन्द्व चलिरहेको छ।
निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ भने ४८ जना सख्त र ४३ जना सामान्य घाइते भएका छन्। जसमा हात्तीको आक्रमणबाट छजना, बाघको आक्रमणबाट पाँचजना, गैंडाको आक्रमणबाट दुईजना, चितुवा र मगर गोहीको आक्रमणबाट एकएकजनाको ज्यान गएको छ।
सो अवधिमा चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट पाँचजनाको ज्यान गएको छ। उक्त वर्ष वन्यजन्तुपीडितलाई आठ करोड ७१ लाख ८६ हजार सात सय ५७ रुपैयाँ राहतस्वरुप वितरण गरिएको निकुञ्ज विभागका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए। सो अवधिमा पशुधन क्षतिका तीन हजार तीन सय १०, भण्डारण अन्न क्षतिका ७३, घरगोठ क्षतिका २०, माछा क्षतिका सा, कुखुरा क्षतिका ३६ र अन्नबाली क्षतिका एक हजार एक सय २७ वटा घटना भएको विभागको तथ्यांक छ।
