बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले नेपाल सबै जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको बताउनुभएको छ ।
बिहीबारदेखि चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको नारायणी महोत्सव २०८३ को उद्घाटन गर्दै मन्त्री तामाङले नेपालको मौलिक पहिचान नै जातीय, धार्मिक तथा सांस्कृतिक विविधता भएको उल्लेख गर्नुभयो ।
उहाँले चितवन पनि धार्मिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक विविधताले परिचित जिल्ला भएको बताउनुभयो । मन्त्री तामाङले गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
उहाँले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पनि चितवनको समग्र विकास, आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चितता तथा आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुनु महत्त्वपूर्ण रहेको बताउनुभयो ।
महोत्सवले विभिन्न जातजातिका भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने मन्त्री तामाङको भनाइ थियो ।
नारायणी नदी किनारमा आयोजना गरिएको महोत्सवले चितवनको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यवसायी, उद्यमी र सर्वसाधारणका लागि आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
