नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युवाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ । देशको बिकासमा जेसीजले खेलेको भूमिका सराहनीय भएको उल्लेख गर्नुभयो ।
गीतानगर जेसीजले भरतपुरमा आयोजना गरेको नेपाल जेसीज क्षेत्र (ख) को बृहत सम्मेलनमा सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले देशका सबै नेतृत्व तहमा युवाको सहभागीता बढाउनुपर्ने बताउनुभएको हो ।
सीप क्षमता र उद्यमसंगै बिकासमा जोड दिन सकिएको खण्डमा मात्र देशको परिवर्तन सम्भव हुने जिकिर गर्नुभयो ।
देशका विभिन्न जिल्लाहरुमा एकताबद्ध भएर जेसीज कमिटी निर्माण हुँदै जानु आजको अपरिहार्य आबश्यकता भएको औल्याउँदै मन्त्री पौडेलले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक शक्तिको सदुपयोग गर्दै एउटै पदमा दोहोरीने पद्धतिको अन्त्य गरिनुपर्ने प्रमुख एजेन्डा रहेको बताउनुभयो ।
त्यस्तै जेसीजका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले अहिलेको समयमा युवाहरुलाई स्वदेशमा नेतृत्वदायी भूमिकामा ल्याउन ठूलो चुनौती भएको बताउनुभएको छ । आम युवापीढी स्वदेशमा भबिस्य नदेखेर बिदेशीएको स्मरण गर्दै उहाँले रोजगारीको सुनिश्चितता गराउन सरकार लाग्नुपर्ने बताउनुभयो ।
देशका विभिन्न जिल्लामा गठन भएको जेसीज कमिटीले युवाहरुको प्रतिभाको सम्मान, नवप्रतिभाको खोजी, नेतृत्वदायी भूमिकामा युवा वर्गको सहभागीता, उद्यम र सीप बिकासको क्षेत्रमा युवाहरुको सहभागीता गराउन समेत जेसीजले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।