पोल्यान्ड । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा सक्रिय गायक सन्जय थापा मगरले NIM Award 2026 अन्तर्गत सर्वोत्कृष्ट लोकदोहोरी गायक विधाको प्रतिष्ठित पुरस्कार जित्न सफल भएका छन्। विदेशी भूमिमा रहेर पनि नेपाली लोकसंगीतको संरक्षण, प्रवर्द्धन र विकासमा पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यो सम्मानले उनको सांगीतिक यात्रालाई थप उचाइ प्रदान गरेको छ।
पुरस्कार प्राप्तिपछि गायक थापा मगरले आफ्नो सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले आफूलाई जन्म दिई जीवनको सही मार्गमा अघि बढ्न प्रेरित गर्ने भगवानरूपी आमा–बुबाप्रति सधैं ऋणी रहेको उल्लेख गर्दै परिवार तथा आफन्तजनको माया, साथ र विश्वासले आफूलाई निरन्तर अघि बढ्न प्रेरित गरेको बताएका छन्।
त्यसैगरी, आफ्नो सांगीतिक संघर्ष र यात्रामा निस्वार्थ रूपमा साथ र हौसला प्रदान गर्ने वरिष्ठ लोक तथा दोहोरी गायक कुलेन्द्र बिश्वकर्माप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै, सदैव मार्गदर्शन र प्रेरणा प्रदान गर्ने माधव राज खरेलप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।
गायक थापा मगरले आफ्नै भाइ–छोराजस्तै माया, साथ र सहयोग गर्दै आएको नेपाल मगर संघ शाखा पोल्यान्ड, मगर समाज माल्टा तथा पारदर्शी अनलाइन डटकम लगायत विभिन्न सामाजिक तथा सामुदायिक संस्थाहरूप्रति पनि विशेष आभार व्यक्त गरेका छन्।
यस अवसरमा उनले आफूलाई NIM Award 2026 को विजेता बनाउन मतदान गर्ने, शुभकामना दिने, समाचार प्रकाशन तथा प्रसारणमार्फत साथ दिने सम्पूर्ण दर्शक, श्रोता, शुभेच्छुक, समर्थक तथा विश्वभर रहेका नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा अझ उत्कृष्ट सिर्जना र सांगीतिक योगदानमार्फत नेपाली लोकदोहोरी संगीतको विकास र प्रवर्द्धनमा समर्पित रहने उनको प्रतिबद्धता रहेको छ।
NIM Award 2026 मा प्राप्त यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई विदेशमा रहेर नेपाली कला, संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील सम्पूर्ण कलाकारहरूको लागि प्रेरणादायी उदाहरण बनेको छ। सन्जय थापा मगरको यो सफलताले नेपाली लोकदोहोरी संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
पारदर्शी अनलाइन पोल्यान्ड परिवार गायक सन्जय थापा मगरलाई यस ऐतिहासिक सफलताको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि उहाँको सांगीतिक यात्रा अझ सफल, सिर्जनशील र उपलब्धिमूलक बनोस् तथा नेपाली लोकसंगीतको क्षेत्रमा अझ उच्च शिखर चुम्न सफल हुनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछ।
