युनाइटेड टेक्निकल कलेज (यू–टेक) मा इन्जिनियरिङ, डिजिटल प्रविधि र दिगो पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अनुसन्धान, नवप्रवर्तन र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले गर्नुभएको थियो । उहाँले डिजिटल प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्र विकाससँग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र दिगो विकाससम्बन्धी अनुसन्धानपत्र प्रस्तुत तथा छलफल गरिएको थियो ।
सम्मेलन अध्यक्ष तथा कलेजका प्राचार्य प्रा.डा. माधवप्रसाद कोइरालाले कार्यक्रमले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा सहकार्य बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
