तनहुँको देवघाट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयका आईटी स्रोत शिक्षक लक्षित ५ दिने सूचना प्रविधि क्षमता विकास तालिम सम्पन्न भएको छ।
विद्यालय शिक्षामा प्रविधिको प्रभावकारी प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा पालिका अन्तर्गतका विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिममार्फत शिक्षकहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, सीप तथा पेशागत क्षमता अभिवृद्धि गर्दै कक्षा शिक्षणमा डिजिटल प्रविधिको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ। आधुनिक शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको भूमिकालाई प्रभावकारी बनाउन तालिम उपयोगी बनेको सहभागी शिक्षकहरूले बताएका छन्।
तालिमको समापन कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष श्री तिल बहादुर थापा, वडा नम्बर ४ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक श्री मित्रलाल गुरुङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ लामिछाने लगायतको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा बोल्दै सहभागी तथा सरोकारवालाहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।
