वार्सा, पोल्याण्ड। नेपाल मगर संघ, शाखा पोल्याण्डले आयोजना गर्न लागेको ‘प्रथम सहिद लखन थापा मगर स्मृति कप–२०२६’ (७ ए साइड खुल्ला फुटबल प्रतियोगिता) का लागि आधिकारिक रूपमा टिम दर्ता खुला गरेको छ। प्रतियोगिता आगामी ८ अगस्ट २०२६, शनिबार पोल्याण्डको राजधानी वार्सास्थित OSIR Bemowo Stadium मा आयोजना हुनेछ।
नेपाल मगर संघ, शाखा पोल्याण्डले पोल्याण्ड तथा विभिन्न युरोपेली मुलुकमा रहेका नेपाली फुटबल क्लब तथा टिमहरूलाई समयमै टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ। प्रतियोगिताले नेपाली समुदायबीच खेलकुद, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।
प्रतियोगिताको मुख्य विवरण
– मिति: ८ अगस्ट २०२६, शनिबार
– समय: बिहान ९:०० बजेदेखि
– स्थान: OSIR Bemowo Stadium, ul. Obrońców Tobruku 11, 01-494 Warszawa, Poland
आकर्षक नगद पुरस्कार
– प्रथम: ८,००० PLN सहित ट्रफी, मेडल र प्रमाणपत्र
– द्वितीय: ५,००० PLN सहित ट्रफी, मेडल र प्रमाणपत्र
– तृतीय: ३,००० PLN सहित ट्रफी, मेडल र प्रमाणपत्र
– सान्त्वना: १,५५५ PLN सहित ट्रफी, मेडल र प्रमाणपत्र
यसका अतिरिक्त उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र विशेष उपहारस्वरूप Vajraa Events Ticket प्रदान गरिने आयोजकले जनाएको छ।
टिम दर्ता
प्रतियोगिताका लागि प्रति टिम १,५०० PLN दर्ता शुल्क तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति ३१ जुलाई २०२६ रहेको छ। दर्ता प्रक्रिया पूरा गरेपछि टिमको नाम तथा आवश्यक कागजात खेलकुद सचिव देवान गर्बूजा मगरलाई पठाउनुपर्नेछ भने भुक्तानी रसिद सचिव जीवन सिन्जाली मगरलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
सांस्कृतिक कार्यक्रम पनि आकर्षण
फुटबल प्रतियोगितासँगै मगर समुदायको मौलिक संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति तथा नेपाली मौलिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। खेल र संस्कृतिको संगमका रूपमा रहने यस कार्यक्रमले पोल्याण्डमा रहेका नेपाली समुदायलाई एकै स्थानमा जोड्ने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी तथा दर्शकहरूलाई प्रतियोगितामा सहभागी भई ऐतिहासिक कार्यक्रमको साक्षी बन्न हार्दिक निमन्त्रणा गरेको छ। साथै प्रतियोगिताका खेल नियमावली र अन्य विस्तृत जानकारी संस्थाको आधिकारिक सामाजिक सञ्जालमार्फत छिट्टै सार्वजनिक गरिने जनाएको छ।
नेपाल मगर संघ, शाखा पोल्याण्डले सबै इच्छुक टिमहरूलाई समयमै दर्ता प्रक्रिया पूरा गरी प्रतियोगिताको हिस्सा बन्न अनुरोध गरेको छ।
