तनहुँको देवघाट गाउँपालिका–५ वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा गरेका कार्यक्रम, प्रशासनिक कार्यप्रगति तथा सेवा प्रवाहसम्बन्धी विवरण सार्वजनिक गरेको छ। वडाले भौतिक विकाससँगै सामाजिक सुरक्षा, कृषि, पशु सेवा, विपद् व्यवस्थापन र नागरिक सेवामा उल्लेख्य काम गरेको जनाएको छ।
वडा कार्यालयका अनुसार वडाभित्र २१ वटा टोल विकास संस्था र १० वटा सामुदायिक वन उपभोक्ता समिति सक्रिय रहेका छन्। चालु आर्थिक वर्षमा वडा र गाउँपालिकाबाट विनियोजन भएका गरी ६० वटा योजना कार्यान्वयनमा लगिएको छ।
वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ७५४ रहेको छ। जसमा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिका लगायतका लाभग्राही रहेका छन्।
वडा कार्यालयले २०८२ वैशाखदेखि २०८३ जेठसम्म २२२ वटा व्यक्तिगत घटना दर्ता गरेको छ। जसमा जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाइँसराइ दर्ता रहेका छन्। सो अवधिमा वडाले १६ लाख ५७ हजार ५३१ रुपैयाँ ४ पैसा राजस्व संकलन गरी गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गरेको जनाएको छ।
नागरिक सेवा सहज बनाउन वडा कार्यालयमा नागरिक वडापत्र राखिएको, सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा उपलब्ध गराइएको तथा कृषि र पशु क्षेत्रलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ। साथै विद्युत् अवरोध हुँदा पनि सेवा प्रवाह निरन्तर गर्न इन्भर्टर जडान गरिएको छ।
कृषि तथा पशुपालनतर्फ ५० प्रतिशत अनुदानमा मालेपाटन बोडीको बीउ वितरण गरिएको, पशुपंक्षी पोषक तत्व वितरण गरिएको र विद्युतीय पम्प वितरणको प्रक्रिया अघि बढाइएको छ।
वडाले विपद् व्यवस्थापन समिति, भूमि सहजीकरण समिति, वडा स्तरीय शिक्षा समिति, बाल अधिकार संरक्षण समिति र अपाङ्गता समिति गठन गरी सक्रिय बनाएको जनाएको छ। साथै मेलमिलाप केन्द्र स्थापना गरी स्थानीय विवाद समाधानमा समेत काम अघि बढाइएको छ।
वडा कार्यालयमा विभिन्न निकायबाट आएका पत्र दर्ता तथा सिफारिसको काम पनि प्रभावकारी रूपमा भएको जनाइएको छ। चालु वर्षमा विभिन्न संघसंस्था र सरोकारवालासँग १९ वटा बैठक तथा वडा समितिका १६ वटा नियमित बैठक सम्पन्न भएका छन्।
वडा कार्यालयले प्राप्त १२ वटा उजुरी सम्बोधन गरेको, विपन्न नागरिक औषधि उपचारका लागि नियमित सिफारिस गर्दै आएको र वडाभित्र १५६ मिटर बाटो ढलान गरिएको जानकारी दिएको छ।
वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण र सामाजिक कार्यक्रमलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ।
