सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुँदैछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।
बन्द सत्रका लागि संघले आज मात्रै रास्वपालाई स्वीकृति दिएको छ । बन्दसत्र प्रदर्शनी केन्द्रमा गर्ने पार्टीले निर्णय लिए पनि केही प्राविधिक विषयले संघ र रास्वपाबीच सम्झौता हुन सकेको थिएन । त्यो विषय पनि टुङ्गिएका कारण बन्दसत्र राख्न संघले स्वीकृति दिएको संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिए ।
यस्तै उद्घाटन सत्र भने घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्यांगर’भित्र गरिदैछ । ‘जर्मन ह्याङ्गर’ अस्थायी तर बलियो टेन्ट हो । अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो हुन्छ । जसले गर्दा घामपानी, हुरीबतासका साथै आगलागीबाट पनि जोगिने छ ।
उद्घाटन कार्यक्रमका लागि पाँच हजार कुर्सी राख्न मिल्ने गरेर ‘जर्मन ह्याङ्गर’का तीन खण्ड तयार हुने छन् । काठमाडौंको मिडिया स्पेस सोलुसनले ती संरचना बनाउँदै छ । पोखराको लिटरेचर फेस्टिबल लगायतका अन्य प्रदर्शनीमा यस्ता संरचना बनाइसकेको मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए । मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको हुन्छ ।
मुख्य खण्डको आडमा दायाँबायाँ २० मिटर चौडा र ३० मिटर लम्बाइका थप दुईवटा खण्ड रहने छन् । दुई पाखे ह्याङ्गरको माथिल्लो उचाइ २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ ।
पाँच हजार कुर्सीका साथै बिना कुर्सी पनि मान्छेहरू बस्न मिल्ने गरेर उद्घाटन स्थलमा ‘ह्याङ्गर’ तयार हुनेछ ।
जर्मन ह्यांगर टेन्ट विभिन्न कार्यक्रम, प्रदर्शनी, प्रोडक्ट लन्च, सांस्कृतिक कार्यक्रम तथा विवाह समारोहका लागि प्रयोग गरिने अस्थायी संरचना हो । यो मुख्यतः एल्युमिनियमका स्पान प्रयोग गरी बनाइन्छ । बलियो, टिकाउ र छिटो जडान गर्न सकिने भएकाले जर्मन ह्यांगर ठूला सार्वजनिक तथा व्यावसायिक कार्यक्रमहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । ‘ह्यांगर’ शब्द मध्य फ्रान्सेली भाषाको ह्यांगहार्टबाट आएको मानिन्छ, जसको अर्थ घर नजिकको घेराबारयुक्त संरचना भन्ने हुन्छ ।
लगभग ३० हजार वर्ग फिट क्षेत्रमा घामपानी छेक्ने र हुरीबतासले बिगार्न नसक्ने ह्यांगर बन्ने भट्टराईले जानकारी दिए । जर्मन ह्याङ्गरभित्र १०र१२ हजार मान्छे अट्न सक्ने अनुमान छ ।
चितवनमा गर्मी अत्यधिक छ । वर्षातको समय भएका कारण खुला चौरमा कार्यक्रम गर्दा असर पर्न सक्ने भएका कारण अस्थायी भए पनि बलियो संरचना तयार गरेको आयोजकले जानकारी दिए ।आइतबार उद्घाटन हुने रास्वपाको महाधिवेशनन मंगलबार सकिने छ ।

