रोजगारीको लागि खाडी मुलुक साउदी अरबमा आठ वर्ष बिताएका पर्वतका नारायण जिसी अहिले स्वदेशमै सफल उद्यमी बन्नुभएको छ । विदेशमा सोचेजस्तो आम्दानी नभएपछि फर्किएका जिसीले व्यावसायिक गाईपालन सुरु गरी मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
जलजला गाउँपालिका–८ फर्सेका ४५ वर्षीय जिसीले १३ वर्षदेखि गाईपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो । उहाँको फार्ममा अहिले १२ वटा गाई र एउटा भैँसी छन् । दैनिक ७५ देखि ८० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ ।
करिब १५ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको व्यवसायबाट वार्षिक २४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । दाना, घाँस, पराललगायत खर्च कटाएर वार्षिक १७ देखि १८ लाख रुपैयाँ बचत हुने उहाँको भनाइ छ ।
जिसीले उत्पादन गरेको दूध स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामार्फत बिक्री हुँदै आएको छ । गुणस्तरका आधारमा प्रतिलिटर ९६ देखि ११० रुपैयाँसम्म मूल्य पाउने भएपछि बजारको समस्या नरहेको उहाँ बताउनुहुन्छ ।
परिवारकै सदस्य मिलेर फार्म सञ्चालन गर्दै आएका जिसीले अब गोठ विस्तार गरी गाईभैँसीको संख्या २० पुर्याउने योजना बनाउनुभएको छ । विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै कृषि र पशुपालनमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
फर्से गाउँमा जिसी मात्र होइन, अन्य ३५ जना युवाले पनि व्यावसायिक गाईभैँसी पालन गर्दै आएका छन् । एउटै गाउँबाट दैनिक करिब ८०० लिटर दूध उत्पादन हुने गरेको पशु सेवा कार्यालयले जनाएको छ ।
