वार्सा, पोल्याण्ड — नेपाली जनसम्पर्क समिति पोल्याण्डको आयोजनामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका प्रवक्ता, प्राध्यापक तथा नेता देवराज चालिसेको प्रमुख आतिथ्यता तथा महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्रीको विशेष आतिथ्यतामा भेटघाट तथा समसामयिक विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
पोल्याण्डस्थित विभिन्न नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधि, समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल तथा प्रवासी नेपाली समुदायसँग सम्बन्धित समसामयिक विषय, संगठनात्मक गतिविधि, लोकतान्त्रिक मूल्य–मान्यता र आपसी सहकार्यका विविध पक्षमा खुला छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले प्रवासी नेपाली समुदायको एकता, सामाजिक सद्भाव, संगठनको सुदृढीकरण तथा लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। सहभागीहरूले विदेशमा रहेका नेपालीबीच आपसी सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउन यस्ता संवादमूलक कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपाली जनसम्पर्क समिति पोल्याण्डले प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा उपस्थित सम्पूर्ण सहभागीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
