भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी ऐतिहासिक कोटिहोम महायज्ञको भोलि (आइतबार) पूर्णाहुती हुने भएको छ । दुई महिना लामो महायज्ञ भोलि समापन हुन लागेको हो । नाथ परम्परा अनुसार आयोजना गरिएको कोटिहोम महायज्ञमा सवा करोड पटक हवन गरिएको छ ।
पूर्णाहूतीको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिने महायज्ञका मुलकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । हवन गरेको भष्मलाई विभूति भनिन्छ ।
पूर्णआहूती वा पूर्णाहुति भन्नाले कुनै पनि यज्ञ, अनुष्ठान, होम वा धार्मिक कार्यको अन्त्यमा सम्पूर्णता प्राप्तिको कामना गर्दै दिइने अन्तिम आहुति बुझाउँछ । यो यज्ञको अन्तिम र सबैभन्दा महत्वपूर्ण प्रक्रिया हो, जसमा घ्यू, फलफूल, वस्त्र, र विभिन्न पवित्र सामग्रीहरू अग्निमा अर्पण गरिन्छ ।
राष्ट्रगुरू योगी नरहरिनाथको संकल्प र राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणका लागि महायज्ञ आयोजना गरिएको हो । गत वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ भएको हो । महायज्ञमा गोरखनाथको तान्त्रिक बिजमन्त्रद्वारा हवन गरिएको हो ।
