नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे ।
उनले भने, ‘खेलकुदको आवश्यकता शारीरिक तथा मानसिक स्वास्थ्यका लागि, समाजका विभिन्न पक्षहरूलाई प्रतिबिम्बित गर्न, समाजको सभ्यता, संस्कृति आदिको परिचय गराउन हो । समाज कस्तो छ भन्ने तस्बिर देखाउन पनि हो । समाजको अवस्था देखाउन खेलकुदको असाधारण भूमिका र महत्व छ ।
अहिले विश्व फुटबल चलिरहेको छ । हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ । कस्तो उल्टोपाल्टो कुरा छ । हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। अल्पविकसित, विकासशीलतामा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाएका छन्, तर नेपाली फुटबल प्रतिबन्धमा छ ।’
ओलीले नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै त्यसकै कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको दाबी गरे । उनले खेलकुद क्षेत्रमा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गरिनुपर्नेमा जोड दिए ।
उनले खेलाडीको क्षमता पहिचान गरी सम्बन्धित विधामै प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै क्षमता नभएको विधामा जबरजस्ती अघि बढाउँदा अपेक्षित परिणाम प्राप्त नहुने बताए ।
यस्तै, खेलाडीले पर्याप्त पोषण, प्रशिक्षण र शारीरिक विकासका लागि आवश्यक वातावरण पाउनुपर्नेमा जोड दिँदै उनले त्यस्तो अवस्था सिर्जना गर्न सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
ओलीले सरकारकै हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाउँदै यस्तो अवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘खेलाडी खान नपाएर कमजोर हुने, खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो खालको स्थिति हुनुहुँदैन। यतातिर सरकारले पनि ध्यान दिनुपर्ने हो। तर सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ।’
