भरतपुर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रहरीसहित विभिन्न सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको संरक्षण र सहयोगका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले प्रहरीमा आउने वैदेशिक रोजगारीसम्बन्धी उजुरीलाई सामी कार्यक्रमसँग जोड्न सके प्रभावकारी सहयोग गर्न सकिने धारणा राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी रामेश्वर पौडेलले ठगी तथा समस्यामा परेपछि नागरिकहरू प्रहरी र प्रशासनमा आउने गरेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानुअघि आवश्यक जानकारी र कागजात सुरक्षित राख्न आग्रह गर्नुभयो।
भरतपुर महानगरपालिकाकी सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शुशिला वाग्लेले सुरक्षित वैदेशिक रोजगारीलाई महानगरले प्राथमिकतामा राखेको बताउँदै विदेश जानुअघि सही सूचना र परामर्श आवश्यक रहेको बताउनुभयो।
सामी कार्यक्रम संयोजक सूर्य पौडेलले सुरक्षित आप्रवासनका लागि स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
