चितवनका अग्रणी व्यवसायी तथा भेटघाट रेस्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारीको आत्मकथात्मक कृति ‘संघर्ष र सफलता’ आज एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो।
पुस्तक सार्वजनिक गर्दै डा. कोइरालाले व्यवसायसँगै समाजसेवा र मानवीय कार्यमा तिवारीले पुर्याएको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै पुस्तकले नयाँ पुस्तालाई संघर्ष, इमानदारी र आत्मविश्वासको प्रेरणा दिने विश्वास व्यक्त गरे। जीवनका व्यावहारिक अनुभव, सफलताका सूत्र र संघर्षका अनेक आयाम यस कृतिमार्फत पाठकले बुझ्न सक्ने उनको भनाइ थियो।
‘संघर्ष र सफलता’ आत्मकथात्मक शैलीमा लेखिएको कृति हो। यसमा ‘तालको छेउमा जन्म, नदीको छेउमा कर्म’ देखि ‘मेरो रुचि समाजसेवा’ सम्मका २० शीर्षकमार्फत लेखक तिवारीको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, आर्थिक अभाव, व्यवसायिक उतारचढाव, भेटघाट रेस्टुरेन्टको स्थापना, समाजसेवा, पारिवारिक जीवन तथा जीवनका अविस्मरणीय अनुभूति समेटिएका छन्।
पोखरा महानगरपालिका–२०, बेगनासमा २०१९ साल वैशाख १६ गते जन्मिएका तिवारीले सामान्य परिवारबाट उठेर कठिन संघर्षका बीच व्यवसायमा स्थापित भएको आफ्नो जीवनयात्रालाई पुस्तकमा सजीव रूपमा प्रस्तुत गरेका छन्। जीवन नदीजस्तै निरन्तर बगिरहने सत्यलाई आत्मसात् गर्दै उनले मेहनत, धैर्य, सकारात्मक सोच र निरन्तर कर्मले सफलता सम्भव हुने सन्देश दिएका छन्। पुस्तकले संघर्षलाई अवसरमा रूपान्तरण गर्न सकिने प्रेरणादायी दृष्टान्त प्रस्तुत गरेको छ।
भेटघाट रेस्टुरेन्टद्वारा प्रकाशित ८२ पृष्ठको यस कृतिको मूल्य रु. ५०१ निर्धारण गरिएको छ। लमजुङ छापाखानाले मुद्रण गरेको यो गोविन्दप्रसाद तिवारीको पहिलो प्रकाशित कृति हो।
