वार्सा, पोल्याण्ड: साथी सामाजिक सञ्जालद्वारा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रम वारसास्थित Hotel Namaste Curry Masala मा सम्पन्न भएको छ। कार्यक्रममा २० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूबीच साथी सामाजिक सञ्जाललाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने उपाय, यसमार्फत उपलब्ध सेवा, सुविधा तथा अवसरहरू, साथै समुदायलाई डिजिटल माध्यमबाट कसरी प्रत्यक्ष लाभान्वित बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलको मुख्य केन्द्रबिन्दु बेरोजगार युवायुवतीलाई अनलाइन मार्केटिङ, डिजिटल सीप तथा स्वरोजगारका अवसर बारे जानकारी गराई आत्मनिर्भर बन्न प्रेरित गर्नु रहेको थियो। सहभागीहरूले सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल मार्केटिङमार्फत व्यवसाय प्रवर्द्धन, व्यक्तिगत ब्रान्ड निर्माण तथा नयाँ रोजगारी र उद्यमशीलताका सम्भावनाबारे आफ्ना अनुभव र विचार आदानप्रदान गरेका थिए।
कार्यक्रममा डिजिटल प्लेटफर्मको सही उपयोगले स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडिन सकिने, साना व्यवसायलाई प्रवर्द्धन गर्न सकिने तथा आयआर्जनका नयाँ अवसर सिर्जना गर्न सकिने विषयमा पनि विशेष जोड दिइएको थियो।
कार्यक्रमको समापनमा यस्ता अन्तरक्रियामूलक तथा सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै युवाहरूलाई डिजिटल साक्षरता, उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।
साथी सामाजिक सञ्जालले आगामी दिनहरूमा पनि समुदायलाई प्रविधिसँग जोड्दै ज्ञान, सीप र अवसरको पहुँच विस्तार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
