प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको उक्त छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउनुभयो ।
हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनुभयो ।
मुलुकलाई आरोग्य पर्यटन, ‘विवाह गन्तव्य’ र सीमापार पर्यटनका रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको औँल्याउँदै उहाँहरूले सरकारसमक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको छ ।
