चितवन राष्ट्रिय निकुञ्जमा पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको पहिलो चरण सम्पन्न भएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो चरणअन्तर्गत त्रिवेणी, अमलटारी, कसरा हुँदै बरण्डाभार क्षेत्र समेटेर २८६ वटा ग्रिडमा गणना गरिएको छ । हाल पहिलो चरणमा जडान गरिएका क्यामेरा उठाउने काम सुरु भइसकेको छ ।
दोस्रो चरणमा सौराहा, लोथर–प्रतापपुर, बोटेसिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मका क्षेत्रमा ३३६ ग्रिडमा क्यामेरा जडान गरी गणना गरिनेछ । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिनेछ ।
चितवन–पर्सा ब्लकमा कुल ९५८ ग्रिडमा गणना भइरहेको छ । यससँगै बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना जारी छ । तीन महिना लगाएर सम्पन्न हुने यो गणना हरेक चार वर्षमा गरिँदै आएको छ ।
यसअघि सन् २०२२ को गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

