माडीको विकासमा देखिएका प्रमुख अवरोध, आवश्यक ऐन संशोधन तथा परिणाममुखी कामलाई प्राथमिकतामा राख्दै निर्वाचन लक्षित ‘माडीप्रेमी युवा सञ्जाल’ अभियान सुरु गरिएको छ।
सोमबार माडीको बसन्तपुरस्थित जक्सन क्याफेको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक सुरुवात गर्दै माडी विकासका १० बुँदे माग सार्वजनिक गरिएको हो।
अभियानले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने उम्मेदवारहरूलाई माडीको दीर्घकालीन विकासका विषयमा स्पष्ट प्रतिबद्धता जनाउन दबाब दिने उद्देश्य राखेको छ। माडीका संरचनागत समस्या समाधान, कानुनी अड्चन फुकुवा तथा जनताको जीवनस्तर सुधार गर्ने खालका योजनालाई प्राथमिकतामा राख्न उम्मेदवारहरूको ध्यानाकर्षण गराइने अभियानको लक्ष्य रहेको छ।
‘माडीप्रेमी युवा सञ्जाल’का संयोजक युवा पण्डित सुदर्शन सुवेदीले माडीलाई निकाससहितको विकासतर्फ लैजान जनदबाब सिर्जना गर्न अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले निर्वाचनको समयमा उठाइने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गराउन युवाहरू एकजुट भएको स्पष्ट पार्नुभयो।
पत्रकार सम्मेलनमा अभियानका उद्देश्य, आगामी कार्यक्रम तथा माडीको समग्र विकासका लागि राजनीतिक दल र उम्मेदवारहरूले लिनुपर्ने भूमिकाबारे समेत चर्चा गरिएको थियो।
युवाहरूको अगुवाइमा सुरु भएको यो अभियानले माडीको विकास बहसलाई निर्वाचनको मुख्य एजेन्डा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
