चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले माडी क्षेत्रमा चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ।
घरदैलोका क्रममा गुरुङले माडीसँग आफ्नो विशेष आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै यस क्षेत्रको समग्र विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले नीति निर्माणमा स्पष्ट दृष्टिकोण राख्दै स्थानीय आवश्यकता, भूगोल र जनताको चाहनालाई केन्द्रमा राखेर विकास योजना अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
जनप्रतिनिधिको मुख्य जिम्मेवारी जनताको आवाज संसदसम्म पुर्याउनु भएको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू दृढतापूर्वक लाग्ने बताउनुभयो।
यसैबीच, नेपाली कांग्रेसले माडीको बसन्तपुरमा चुनाबी सम्पर्क कार्यालय स्थापना गरेको छ, जसले माडी क्षेत्रमा कांग्रेसको चुनावी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

