आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेस आफ्नो परम्परागत गढ जोगाउन सक्रिय भएको छ।
२०४८ सालदेखि लगातार जित्दै आएको यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानमा नरहेपछि प्रतिस्पर्धा थप रोचक बनेको छ।
कांग्रेसबाट युवानेता नैनसिंह महर उम्मेदवार हुनुहुन्छ। देउवाको अनुपस्थितिमा विजयी यात्रालाई निरन्तरता दिने चुनौती महरसमक्ष छ। कांग्रेस नेतृत्वले देउवा स्वास्थ्यका कारण नियमित प्रचारमा नआए पनि पार्टी कार्यक्रममा सहभागी हुने जनाएको छ।
एमालेबाट चक्र स्नेही, रास्वपाबाट डा. ताराप्रसाद जोशी तथा नेकपासहित अन्य दलका उम्मेदवारहरू पनि सक्रिय रूपमा घरदैलोमा जुटेका छन्। डडेल्धुरामा यसपटक कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
कूल ९३ हजार ४०३ मतदाता रहेको एकमात्र निर्वाचन क्षेत्र डडेल्धुरामा १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदाता संख्या वृद्धि भएसँगै १०४ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएका छन्, जसमध्ये ३३ स्थल अतिसंवेदनशील सूचिमा छन्।
करिब ३४ वर्षपछि डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेकका उम्मेदवारलाई मतदान गर्ने अवस्था बनेको छ, जसले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्व दिएको छ।
