चितवनमा आयोजित राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मको अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ ।
४०० पूणाङ्कमध्ये ३६२.५ अङ्क प्राप्त गर्दै उक्त गाई प्रथम बनेको हो । दूध उत्पादनमा अग्रणी मानिएको चितवनमा पहिलो पटक यस प्रकारको प्रतिस्पर्धात्मक मूल्याङ्कनसहितको गाई प्रदर्शनी आयोजना गरिएको हो ।
भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी अन्तरराष्ट्रिय डेरी प्रदर्शनी–२०८२ अन्तर्गत बुधबार आयोजित प्रतियोगितामा विभिन्न नश्लका गाईलाई एकै स्थानमा भेला गरी पशु विज्ञहरूले स्वास्थ्य अवस्था, दूधालुपन, शारीरिक बनावट, हिँडाइ तथा प्रजननयोग्यता लगायतका आधारमा मूल्याङ्कन गरेका थिए । चार सदस्यीय निर्णायक समूहले अङ्क प्रदान गरेको थियो ।
प्रतियोगितामा शिवानी कृषि तथा पशुपक्षी फर्मका सञ्चालक शिवप्रसाद पौडेलको गाई ३५३.५ अङ्कसहित द्वितीय स्थानमा रह्यो भने कालिका पशु विकास केन्द्रका सञ्चालक चेतप्रसाद ढकालको गाई ३५२.५ अङ्कसहित तृर्तीय भयो । नोभा कृषि फर्मका सञ्चालक पदम तिवारीको गाई सान्त्वना स्थानमा परेको छ ।
गाई प्रतियोगिताका प्रमुख निर्णायक कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका एसोसिएट प्रोफेसर डा गोकर्ण गौतम रहनुभएको थियो । त्यसैगरी गाई अनुसन्धान कार्यक्रम, रामपुरका विज्ञ डा उद्धव पनेरु, किसान आयोगका वरिष्ठ पशु विकास अधिकृत डा खगेन्द्र सापकोटा तथा अमेरिकी पशु विज्ञ डेनियल ली लेनी निर्णायक सदस्य रहनुभएको थियो ।
निर्णायकहरूले प्रतियोगितामा सहभागी १७ वटा विभिन्न फर्मका गाईको स्वास्थ्य अवस्था, जातअनुसारको शारीरिक बनावट, हिँडाइ, दूधालुपन तथा प्रजननयोग्यता लगायतका आधारमा मूल्याङ्कन गर्नुभएको थियो । अन्य गाईको अङ्क पनि निकै नजिकै रहेको निर्णायक मण्डल संयोजक डा गौतमले बताउनुभयो ।
डा गौतमले गाईको शारीरिक बनावट, थुनेलो लाग्ने सम्भावना, ब्याउन सजिलो वा गाह्रो हुने संरचना लगायतका विशेषताका आधारमा मूल्याङ्कन गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा ल्याइएका सबै गाई उत्कृष्ट रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले गाई प्रतियोगिता नेपालमा नयाँ अभ्यास भएको बताउनुभयो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । विदेशमा यस्ता प्रतियोगिता टेलिभिजन र मोबाइलमार्फत प्रत्यक्ष प्रसारण गरिने भए पनि नेपालमा यस्तो अभ्यास न्यून रहेको उहाँको भनाइ थियो ।
‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नाराका साथ चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लि।को संयुक्त आयोजनामा सञ्चालित अन्तरराष्ट्रिय डेरी एक्स्पो–२०८२ आज समापन हुँदैछ ।
