राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समितिले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र (बगही सेक्टर, माडी) का उपभोक्ता समूह पुनर्गठन गरी नयाँ समिति गठन गर्न माग गरेको छ।
नगर सभापति नारायण प्रसाद रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा हालको राजनीतिक परिवर्तन र जनताको ताजा जनमतअनुसार पुराना संरचना विस्थापित गर्दै नयाँ नेतृत्वमार्फत समितिहरु गठन गर्नुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा मध्यवर्ती क्षेत्रका पुरुष तथा महिला उपभोक्ता समूहहरुको तत्काल भेला बोलाई पुनर्गठन गर्न, पुनर्गठित समूहबाट लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ कार्यसमिति निर्माण गर्न तथा स्थानीय अधिकार र स्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्न माग गरिएको छ।
त्यसैगरी, माडी क्षेत्रको रोयल्टी अधिकार, सुकुम्बासी समस्या समाधान र वन्यजन्तुबाट हुने क्षतिपूर्तिको व्यवस्था प्रभावकारी बनाउन नयाँ समितिले प्राथमिकताका साथ काम गर्नुपर्ने रास्वपाले जनाएको छ।
रास्वपाले जनताको ताजा जनादेशअनुसार नेतृत्वलाई समावेश नगरी पुरानै ढाँचामा समिति सञ्चालन गर्ने वा निर्वाचन प्रक्रिया लम्ब्याउने प्रयास भएमा स्वीकार नगर्ने चेतावनी दिएको छ। साथै, परिवर्तनका पक्षमा एकजुट हुन सम्पूर्ण माडीबासीलाई आह्वान गरिएको छ।
