गजल मञ्च चितवनले आफ्नो २०औँ स्थापना दिवसका अवसरमा गजल उत्सव तथा खुला गजल वाचन कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी २०८२ साल चैत २६ गते बिहीबार दिउँसो ४ बजे चितवन साहित्य परिषद्को सभाहलमा आयोजना हुनेछ। गजल विधाको प्रवर्द्धन र सर्जकहरूबीच सृजनात्मक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको जनाइएको छ।
उक्त अवसरमा चितवन र आसपासका जिल्ला लगायत विभिन्न स्थानबाट गजलकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत खुला गजल वाचनको व्यवस्था गरिएकाले स्थापित गजलकारका साथै नवसर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाउनेछन्। साथै कार्यक्रममा नयाँ विशिष्ट सदस्य तथा नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र समर्पण कार्यक्रम पनि रहनेछ।
आयोजक संस्थाले साहित्यप्रेमी, गजलकार तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित भई उत्सव सफल बनाउन आग्रह गरेको छ। दुई दशकदेखि गजल विधाको विकास र विस्तारमा सक्रिय गजल मञ्च चितवनले स्थापना दिवसका अवसरमा यस्ता साहित्यिक गतिविधि निरन्तर गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
