चितवनको माडी नगरपालिका अन्तर्गत माडी–ठोरी हुलाकी राजमार्गमा पर्ने पतरे खोलाको पुल विगत करिब ८ वर्षदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीले विशेषगरी वर्षायाममा गम्भीर सास्ती खेप्न बाध्य भएका छन्।
२०७४ असार ११ गते करिब ३ करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको उक्त पुल निर्माण कार्यमा चार पटकसम्म म्याद थपिए पनि उल्लेखनीय प्रगति हुन सकेन। अन्ततः मंसिर १२ गते ठेक्का सम्झौता नै रद्द गरिएको हुलाकी राजमार्ग निर्देशनालय, वीरगञ्जले जनाएको छ। हालसम्म पुलको भौतिक प्रगति १५ प्रतिशत पनि नपुगेको बताइएको छ।
पुल नबन्दा माडी–७ स्थित किर्तनपुर र देवेन्द्रपुर जोड्ने यो मार्ग वर्षायाममा झन् जोखिमपूर्ण बन्दै गएको छ। स्थानीयवासी भन्छन्, “ठूलो पानी परेपछि यात्रा नै रोक्नुपर्छ, बिरामी परे झन् समस्या हुन्छ।”
विज्ञहरूका अनुसार कमजोर योजना, राजनीतिक हस्तक्षेप, ढिलो निर्णय प्रक्रिया र प्रभावकारी अनुगमनको अभावले विकास निर्माण प्रभावित भइरहेको छ।
उता, चितवन क्षेत्र नं. ३ की सांसद तथा कानुनमन्त्री सोविता गौतमले संसदमा विभिन्न क्षेत्रका विषय उठाए पनि माडीको यो दीर्घकालीन समस्याबारे भने उल्लेख नगरेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको छ।
उहाँले हनुमानझुला, पारस बसपार्क, मेघौली र गोलाघाट क्षेत्रका विषयमा आवाज उठाउँदा माडीको पतरे खोलाको पुलबारे मौनता देखिएको स्थानीयको गुनासो छ।
स्थानीयले तत्काल पुल निर्माण प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्। साथै गृहमन्त्री र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग पनि यसतर्फ ध्यान दिन आग्रह गरिएको छ।
माडीका अन्य खोलामा पुल निर्माण सम्पन्न भइसकेको अवस्थामा अब पतरे खोला मात्र बाँकी रहेकाले यसको काम शीघ्र सुरु गर्नुपर्नेमा जोड दिइएको छ।
