नेपाल मगर संघ, शाखा पोल्यान्डले आफ्नो स्थापनाको वर्षगाँठ र नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यलाई एक ऐतिहासिक उपलब्धि र सेवामुखी कार्यका साथ मनाएको छ। यसै पावन अवसरमा शाखाले मातृ संस्था नेपाल मगर संघ केन्द्रीय समितिबाट ‘वैदेशिक शाखा’ को आधिकारिक मान्यताको प्रमाणपत्र ग्रहण गर्नुका साथै संस्थागत सुदृढीकरणका लागि प्रविधि सहयोग हस्तान्तरण गरेको छ।
मगर संघको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच शाखाले केन्द्रको दैनिक प्रशासनिक कार्यलाई आधुनिक र छिटो-छरितो बनाउने उद्देश्यले करिब १ लाख १० हजार रुपैयाँ बराबरको नयाँ मोडेलको अत्याधुनिक कम्प्युटर संस्थागत रूपमा प्रदान गरेको हो।
उक्त कार्यक्रममा नेपाल मगर संघ वैदेशिक विभाग इन्चार्ज श्री रक्षा बहादुर रैका मगरको विशेष उपस्थिति र प्रमुख भूमिका रहेको थियो। इन्चार्ज रैका मगरको समन्वयमा संघका केन्द्रीय अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर, केन्द्रीय पदाधिकारी टिमको सामूहिक उपस्थितिमा नेपाल मगर संघ शाखा पोल्यान्डका सचिव श्री जीवन सिन्जाली मगरले संयुक्त रूपमा सो सामग्री हस्तान्तरण गर्नुभयो।
वैदेशिक शाखाको मान्यता प्राप्त प्रमाणपत्र ग्रहण गर्दै पोल्यान्ड शाखाका सचिव श्री जीवन सिन्जाली मगरले यस क्षणलाई ऐतिहासिक बताउनुभयो। उहाँले भन्नुभयो:
“संघको संस्थागत निर्णयअनुसार नयाँ वर्षको यो ऐतिहासिक दिन पारेर एकातिर आधिकारिकताको प्रमाणपत्र लिन पाउनु र अर्कोतिर मातृ संस्थालाई प्रविधि सहयोग गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो। यो कार्य आफैँमा ऐतिहासिक र अविष्मरणीय छ।”
सहयोग ग्रहण गर्दै केन्द्रीय अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगरले पोल्यान्ड शाखाको कार्यलाई उच्च प्रशंसा गर्दै भन्नुभयो:
“पोल्यान्ड शाखाले आफ्नो स्थापनाको वर्षगाँठलाई यसरी सिर्जनात्मक ढंगले मनाउनु विश्वभरका अन्य शाखाहरूका लागि एउटा अनुकरणीय उदाहरण हो। प्रवासमा रहेर पनि मातृ संस्थाको जग बलियो बनाउन देखाएको यो समर्पण प्रशंसनीय छ।”
अध्यक्ष पुन मगर र वैदेशिक विभाग इन्चार्ज रक्षा बहादुर रैका मगर लगायत विशिष्ट व्यक्तित्वहरूले पोल्यान्ड शाखाका पदाधिकारी र सदस्यहरूलाई स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना दिँदै विशेष धन्यवाद प्रदान गर्नूभयो!
कार्यक्रममा उपस्थित अग्रज व्यक्तित्वहरूले पोल्यान्ड शाखाले आगामी दिनमा पोल्यान्डमा मात्र सीमित नरही यूरोपभरिका मगर संघ/संस्थाहरूबीच समन्वय र सहकार्य गर्दै एक सबल ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। सचिव सिन्जालीले पनि आगामी दिनमा केन्द्रको विधान र नीतिअनुसार संस्थालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता दोहोर्याउनुभयो।
नयाँ वर्ष २०८३ को सुरुवातसँगै भएको यो आधिकारिकता प्राप्ति र प्रविधि हस्तान्तरणले नेपाल मगर संघको सांगठनिक सुदृढीकरणमा नयाँ आयाम थपेको छ, जसले प्रवास र केन्द्रबीचको सम्बन्धलाई थप प्रगाढ र प्रविधिमैत्री बनाएको छ।
