माडी कला केन्द्रद्वारा आयोजित तेस्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३ आज (विहीबार) देखि सुरु भएको छ।
उत्सवको उद्घाटन माडी नगर प्रमुख ताराकुमारी काजी महतोले गर्नुभएको हो। माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, माडी–२ का वडाध्यक्ष डण्डपाणी पौडेल तथा माडी–३ का वडाध्यक्ष पुरन महतोको विशिष्ट आतिथ्यता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले यस्ता सांस्कृतिक कार्यक्रमहरूले माडीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ वर्षको आगमनसँगै आयोजना गरिएको उत्सवले स्थानीय कला, संस्कृति तथा परम्परागत रीतिरिवाजलाई उजागर गर्ने उल्लेख गर्दै कार्यक्रम सफलताको कामना गर्नुभयो।
आयोजकका अनुसार आज साँझ ७ बजे बसन्तपुरस्थित खुल्ला खेल मैदानमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने छ। उत्सव बैशाख १५ गतेसम्म चल्नेछ।
