माडी नगरपालिका–१ का वडाध्यक्ष अमितकुमार लामाले झन्डै २५ लाख रुपैयाँको लागतमा द्रौपडी नगर, चिताई खोला र टुनामुना खोलाको स्तरोन्नति कार्य छिट्टै सुरु हुने बताउनुभएको छ ।
माडी नगरपालिका वडा नं. १ कार्यालयकाे चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षदेखि हालसम्म द्रौपडी–परशुरामकुण्ड खानेपानी आयोजना अन्तर्गत ४८ लाख १५ हजार रुपैयाँ लागतमा ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तारको काम अघि बढिरहेको छ ।
यता, कार्यक्रममा सहभागी स्थानीयले भने गाउँका समस्या समाधानमा वडाको पहल कमजोर भएको गुनासो गरेका छन् । उनीहरूले बिजुली पोलको अभाव, खानेपानी वितरणमा ढिलाइ, सोमेश्वर मावि आसपास विद्युत् संरचना व्यवस्थापन नहुनु तथा नदी–खोलामा तटबन्धन नहुँदा वर्षायाममा समस्या हुने विषय उठाएका थिए । स्थानीयवासीले दीर्घकालीन समस्या समाधानसँगै अत्यावश्यक काममा तत्काल ध्यान दिन वडालाई आग्रह गरेका छन् । कार्यक्रम बरूवा बजारस्थित गुम्बाकाे हलमा सम्पन्न भएकाे हाे । #PRD830109
