माडी–५ का वडाध्यक्ष गणेश प्रसाद बिश्वकर्माले बिपन्न वर्गका लागि विद्युत् मिटर जडान गर्न वडाबाट रु एक लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ।
आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले वडाले प्राथमिकताका आधारमा विभिन्न क्षेत्रमा बजेट छुट्याएको बताउनुभयो। वडाध्यक्ष बिश्वकर्माका अनुसार सडक बत्ती महशुलका लागि रु दुई लाख, राधापुर स्वास्थ्य केन्द्रलाई रु ५० हजार, ब्रह्मज्योति विद्यालयलाई रु दुई लाख तथा सडक बत्ती मर्मतका लागि रु दुई लाख बजेट विनियोजन गरिएको छ।
हालसम्म २८२ वटा पोलमा बत्ती मर्मत गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै, दिवाकर स्मृति विद्यालयलाई रु चार लाख, आदिवासी समुदायको आयआर्जनका लागि रु एक लाख तथा कला–संस्कृति संरक्षणका लागि रु एक लाख बजेट छुट्याइएको पनि उहाँले उल्लेख गर्नुभयो। साथै, निकुञ्ज क्षेत्रभित्र सडक निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको जानकारी दिइएको छ।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरूले भने अझै धेरै ठाउँमा सडक बत्ती नपुगेको, बिग्रिएका बल्ब समयमै मर्मत नभएको, बजेट वितरण समान नभएको, खानेपानीका पर्याप्त धारा नबनेको तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा प्रभावकारी काम हुन नसकेको गुनासो गरेका थिए। वडाले आगामी दिनमा यी समस्यालाई प्राथमिकतामा राख्दै समाधानतर्फ ध्यान दिने प्रतिबद्धता जनाएको छ।